Last modified on 16 मार्च 2017, at 08:33

हुलाकघर–३ / रमेश क्षितिज

फिर्ता आएको छ सुनको औ‌ंठी
रंगीन तस्बिर
र प्रेमले लेखेको अन्तिम पत्र,

हुलाकघर अघिल्तिर उभेर
हेर्छ युवक
शुन्य आँखाले – कागजका केही मैला पानाहरू
कत्ति छिट्टै पखालिएछ ओठको हस्ताक्षर
निधारको खाली डायरीबाट !

बाक्लिँदै जान्छ उदासीको रात अनायास
उसको अनुहारको पहाडमा
हराउँछन् – गोरेटोहरू हिँड्नुपर्ने
प्रेमका बिसाउनी
र खुसीका चौतारीहरू,

थिच्छ ढुंगाले सुनको औ‌ंठी
टुक्रा–टुक्रा पार्छ कागज,
अनि हिँड्छ अनिर्दिष्ट अल्छिँदै
अल्छिँदै ऊ
ठेगाना नमिलेर फर्केको
कुनै चिठीजस्तो भएर ।