र हामी
यात्रामा थियौं जिन्दगीको,
बगिरहेको थियो खोल्सामा
पहाडको आलो रगत,
गुडुल्किँदै ढुंगाको आँसु झरिरहेथ्यो पखेराबाट,
निरन्तर पाइलाले छाप लगाइरहेथ्यौं हामी
भिजेका गोरेटोमा कुनै खाली टिकटमा जस्तो,
शिखरमाथि
खसिरहेको भुइँकुहिरोको पछ्यौरी
निला पहाडहरूको अपूर्व मुस्कान
हावाको संवाद
हिँडिरहेको बादल र सुतिरहेको बाटो
जीवन छताछुल्ल थियो त्यहाँ !
सम्झना छ–
कसैले भनेको थियो
के खोज्न निस्कन्छन् यी सहरिया गाउँहरूमा
किन खिच्छन् कुम फाटेको गरिबी ?
र बोकेको भारी तस्बिरमा ?
किन रमाउँछन् हेरेर हाम्रा दुर्दशा
र विषादहरू ?
तर पिँढीमा गुन्द्री बिछ्याएर
एउटा बुढो मान्छेले भनेका थिए
हार्दिकताले
बस बा बस !
बैरगी चिठीजस्ता तिमी घुमन्तेको
यही हो आजलाई ठेगाना,
र हामी
यात्रामा थियौं जिन्दगीको ।