Last modified on 12 सितम्बर 2024, at 18:48

"?" / महेश मास्के

फूलको मुस्कान, शीतको आँशु
झरनाको उल्लास, जीवनको मर्म
परिवर्तनका चाहना, विश्वासका किरणहरू
अर्थात
तिम्रा कविताहरू
तर कवि !
तिम्रो आपनै जीवनको कवितामा
यो सजावट आएको छ ?

तिम्रो लेखनमा युग बोल्छ भन्छन्
तिम्रो उपन्यास उपन्यास होइन
झर्झराउँदो बारूदको गोल हो भन्छन्
हो लेखक !
कुनै विष्फोट तिमीभित्र पनि भएको छ ?

निर्जीव सपाट क्यान्भासमा
जीवनका रंगहरू उतारेर
सजीव चित्र कोर्ने
चित्रकार !
तिम्रो आफ्नै जीवनको क्यान्भासमा
यी रंगहरूको इन्द्रणी हाँसेको खै ?

आफ्ना गीतहरूले
हजारौँ वर्षदेखि निश्चेष्ट जनताको
निद्रा तोड्न तत्पर
गीतकार !
खै तिम्रा गीतहरूले
तिम्रै निद्रा बिथोलेको ?

वेदनाको हुरी, व्यथाका सुस्केरा
बोकेर जन्मेका तिम्रा धुनहरू
साच्चै पगाल्छन् मानिसका मुटुहरू
तर संगीतकार !
खै तिम्रा धुनहरूले
तिम्रो व्यवहार पगालेको ?

मैले सुनेको छु
रचनाकार आफ्नो रचनाभन्दा महान हुनुपर्छ
मैले सुनेको छु
बाटो देखाउनेहरूसंग दिशाबोध हुनुपर्छ
मैले सुनेको मात्रै छु यो माटोमा
मैले देख्न पाएको छैन
मैले सुनेको मात्रै छु
कल्पना बाहेक अन्यत्र भेट्न पाएको छैन
मेरा आस्थाका हिमशिखरहरू !
देख्न नसक्नुमा कतै
मेरै दृष्टि दोष त रहेको छैन ?

तर मैले आफ्ना आँखाहरू
इतिहाससंग जचाँइ सकें
भोलि जन्मने
उज्यालो संसारको शीतल गुलाबजलले पनि धोइसके
त्यसैले
कृपया मलाई नढाटिकन भन
क्रान्तिको जटिल पथमा
अरूको मार्ग निर्देशन गर्न उत्सुक
प्रिय गाइड
तिमीले आफ्नै गोरेटो पहिल्याएका छौ ?

०००