Last modified on 4 सितम्बर 2024, at 19:43

अक्षरको आकार / गीता त्रिपाठी

उसको स्वतन्त्रतालाई
जातको आँखाले तौलन्छन् अरू
मभित्र त ऊ पारिजात हुर्केकी हो !

देख्नलाई त
उस्तै देखिएला— उसका एकजोर आँखा
जस्तो देखिन्छ,
आजभोलि खिइँदै गएका अक्षरहरूको आकार
तर म सजिलै पढ्न सक्छु
ऋतुजस्तो संवेदनशील उसका आँखामा
परिवर्तनका बेहिसाब बद्ध र मुक्त लयहरू

आफ्नै इतिहाससँगको युद्धमा
आफै जितेर आएकी योद्धा
अक्षरहरू खोजी खोजी
आफै उमारेकी हो आफ्नो परिचय
तिमीले आँखाको आयाम नापिरहँदा
तिम्रो अँध्यारोलाई छिचोलेर
बगरमा सुन फलाउन थालिसकेकी

आफै हो ऊ, आफ्नो निर्माता
आफै हो आफ्नो नियन्त्रक
पछ्याइरहेछ समयले
ती जादुमय चिम्सा आँखाका किनारहरू
सेतीको छाल,
छिचोल्नै नसकिने गहिराइ,
र विकट सुरुङको कहालीलाग्दो परिवेश
सबै सबै सहज छ उसका लागि
त्यसैले त हो,
तिम्रा आँखामा उज्यालो नपर्दै
ऊ घाम बर्सिसकेकी छ बस्तीमा

ऊ आफै पुस्तक र पुस्तकको खास अंश,
प्रकाशकहरूले आकार घटाएको अक्षर,
त्यही अक्षरझैं
घट्दै गएका अर्थहरू
र,
अर्थहीन प्रतिस्पर्धाहरू भन्दा
कयौं गुणा स्वीकार्य छ उसको स्पष्टता
त्यसैले म बुझ्न सक्छु सजिलै
लहर लहर दौडिएर
मान्छेका हृदयतिरै फर्किने
साना आँखाका गतिशील भावहरू

ऊ हिँड्छे
स्वाभिमानको गीत गाउँदै हिँड्छ बतास
ऊ उभिन्छे
उसको सुस्केरामा नाच्दै उभिन्छ पहाड
कहिलेकाहीँ बतास र पहाड उसँगै हिँड्छन्
त्यसबेला लय बनाउँछे आफैलाई ऊ,
भर्छे जीवन गीतको रसिलो धून
र सिकाउँछे पहाडमा पहाड भएर उभिन

समयका सबैभन्दा धारिला विचारहरू
उसकै चेतनाको तापमा पिटिन्छन्
त्यहीँबाट उठेको छ
यो समयको सर्वाधिक प्रिय विद्रोह
अहिले,
विचारको अग्लो बिरुवा हुर्काइसकेकी छ उसले !!


०००