कति दिनदेखिन् पर्खेँ,
अनुहारलाई आउँछ कि भन्दै यहाँ हिँड्दै
मसित बोल्छ कि भनेर नयाँ सूर्यको भाषा
किरण लिएर,
अरू आनन्दका युग पनि छुन सक्लान्,
अरू प्रसन्नताको जगत पनि,
मैले अनुहार पर्खेँ |
जहाँ खुम्चाइ नहोस्, पीडा नहोस् |
नासल्कियोस् राती आगो नहोस् –
त्यसका खोलामा पानी बगून्
त्यसका बगैँचामा गुन्केशरी फक्रिउन्,
अनुहार पर्खेँ |
अनुहार भनेर के पर्खिनँ,
म कुन भ्रममा परिनँ,
मलाई थाहा छ, मैले के गरिनँ,
के सन्तापको विष पिइनँ ?
के अपमानको भाला सहिनँ ?
के परिवेशको नङ्ग्राइ पाइनँ ?
अनुहार साँच्चै एउटा गीतजस्तो हुँदोरहेछ,
के मैले गीत लेखिनँ ?
अनुहार एउटा शिखर हुँदोरहेछ,
के मैले उकालो चढिनँ ?
ओहो !
अन्जुलिभरि उठाएको एक चौटा सूर्य पनि सेलाइसक्यो |
अझै किन त्यो आएन ?