माटोको धरणीमाथि- 
यो मिठो घाम प्राणले भरेको 
यो दक्षिण समीरण जलद बोकेको 
यो सजीव हरीयो जीवन मरण छोपेर राखेको 
मलाई पनि लाग्छ नि प्यारो ।
 
आज यो धरणी छोडी- 
लक्ष्मी-विहीन भई कतातिर,, कहाँ, 
जानलाई मन मेरो हुँदैन राजी; 
यो मिठो माटोको प्राण बिन्दु-बिन्दु गरी 
राखेछु मेरो, प्राणमा खाँदी । 
जीवन-शुरूको झरनादेखि अझसम्म पाउँदैछ बगी 
एक सुदीर्घ कल्पना- 
अहो,, आज आधीबाटो पुगी 
अधूरा अधूरा मेरा, सब कार्य-सूची 
भए, एक अशेष यातना ।
 
अहो, कसरी, अब कसरी- 
आज यो आधीबाटोदेखि 
पुग्नुअघि नै बिदा लिएर जानेछु फर्केर 
अभिशप्त समयको मुखबाट अहे कसरी म फर्काउनेछु अब 
यी मेरा जीवनका कल्पना सब । 
अहै, म सामान्य, क्षुद्र, अलिकति- 
भगवान्ले मलाई शुरुदेखि ढाँट्यो खालि 
यो प्रवञ्चना, यो अविचार रहेछ लेखेको, मेरो जीवनको 
पाण्डुलिपि भरी । 
म सामान्य, क्षुद्र, अलिकति- 
तर,
मेरो अनुरोधपूर्ण विदाय-वाणी आज म जानेछ पछाडि छोडी 
मेरा पछि पछि बगेका जीवन-निर्झरका जलफोकाहरूका लागि 
सकेदेखि यसको प्रतिशोध लिनु है भगवान्माथि"- 
यही मेरो बिन्ती; 
अनि राख्नु तब जीवन लेखोट मेरो कुनामा खाँदी । 
.................................................
प्रगति, ७, वैशाख-जेठ २०११