Last modified on 25 अगस्त 2024, at 16:31

अध्यात्मयात्रा / सुमन पोखरेल

फर्किन्छु,
बाँच्न खोज्दाखोज्दै
आफैँलाई हराउँदै पुगेको
अनेकौँ गन्जागोलको अनकन्टारबाट ।

फर्किन्छु अब म आफैँतिर
प्राप्ति भनिठानेको तृष्णाहरूको खातबाट
आफूभन्दा परका स्वभावहरूबाट
आफू भनिठानेको कृत्रिम आफूबाट ।

देखिरहेछु अर्धमूदित आफ्नै आँखाभित्र
प्रज्ज्वलित आफ्नो अन्तर्यलाई
देखिरहेछु, आफूबाहिरको सृष्टिभन्दा विशाल
आफैँभित्रको वृहद् फैलाहट
देखिरहेछु अपरिमेय
आफ्नै अस्तित्वको आधार ।

फर्किन्छु,
फर्किन्छु अब म आफैँतिर ।