मनमा पखेटाहरु
कुन कालबाट पलाए होलान् !
जताततै उडाएर मनलाई
पहिलो पटक पंक्षी कस्ले बनायो होला !
प्रेममा परेर पहिलो पटक
स्नेहगीत कस्ले रच्यो होला ?
कस्ले दियो होला
मायाको पहिलो रातो गूलाफ !
कस्ले उडायो होला
पातमा मनको हाल
परेवालाई बोकाएर !
कस्तो होला सृष्टिको
त्यो पहिलो आलिगंनको अपूर्व आभाष !
मयूरपंखी स्पर्शका तरंगहरुको आनन्द !
जीवनको उदगम कालमा प्रियतमा बन्ने
सौभाग्यशाली शकुन्तला को होला !
अमरप्रेमको कथा रच्ने
पहिलो जोडी को होला !
उग्र रिसाएर
को होला बिरही स्लोक उमार्ने पहिलो दूर्वासा !
धोका पाएर
को होला त्यो बहुलाउने पहिलो प्रेमी !
प्रथम मानव मनको निरन्तरता
जून र घामसंग लुकामारी खेल्ने प्रेम
कति कालसम्म बाँची रहला !
प्रेमिल मनहरुको अनन्त उडान
सजाएर आकाशमा ।