एउटा नितान्त बुढो सूर्यले
छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू
बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ |
र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर
यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ
अनि त्यो रातै उडिरहेको बादलको गर्भमा
पानी मांग्दै नमिठोसित कराइरहन्छ |
त्यो त्यसैसित रोइरह्न्छ तृष्णाले
अनि त्यो त्यसैसित रोइरहेथ्यो तृष्णाले |
जब आकाशमा पहेलों तारा टिमटिमाउदैन तबसम्म त्यो रोइरह्न्छ
जब त्यो रित्तो पहाड़मा शीतबिन्दु खस्दैन तबसम्म त्यो रोइरह्न्छ
र त्यसका रोदन क्रन्दनहरू यों पहाड़को गर्भमा खसेर
इतिहास इतिहासलाई एउटा डरलाग्दो आवाज जन्माइरहन्छन् |
सताव्दी बीते त्यो पहाड़का गीतहरू पनि अब त
युगों बीते त्यो पहाड़का कथाहरू पनि अब त
यसैले काकाकुली पनि आउदैन त्यहाँ
त्यसका दारुण रुवाइहरूसमेत वास माग्न पुग्दैन त्यहाँ
र अचेल केवल कालो बादल मात्र
आफ्ना पखेटाहरुमा सूर्यास्तको सुनोलो बिट मारेर
त्यो आस्थाहीन पहाड़को टाउकोबाट बहने
यौटा अतेसलाग्दो हुरीबाट बच्दै बच्दै
निलो आकाशको छातीभित्र फन्फनाई रहन्छ |
अनि त्यो निरपराध पहाड़
आफ्ना पूर्व – सत्यहरुमा ठूलो अनास्था व्याक्ताएर सोच्छ कि
त्यसका बिगत कथाहरुमा रौनकता थिएन होइन
त्यसको व्यथित गीतहरुमा रम्यता थिएन होइन |
कालो कपाल फिजाएर आयेको प्रत्येक रातलाई
त्यसले पनि आफ्नो काखमा आश्रय दिएको थियो
प्रत्येक रात घर छोडेर बेघर हुनेहरूलाई
त्यसले पनि आफ्नो छातीमा वास दिएको थियो |
अचेल जस्तो त्यो यसरी निर्वाध, निर्वांग पल्टीरहनु भन्दा
त्यसले पनि मीठो सपना दिनमै देखेको थियो |
र हुदा हुदै धेरै वर्ष बित्यो
त्यो पहाड़को छातीमा यौटा ठूलो भूकम्प भयो
अनि त्यसका छातीबाट दिउसै सपनाका धुप्पीहरू लडे ,
त्यसको छातीबाट दिउसै आस्थाका पोखरीहरू फूटे,
त्यसको जीवनबाट दिउसै रगतका भलहरू बगे |
अनि यों खजूरो र बिच्छीहरू मात्र सकसकाइरहेको विश्वमा,
अनि यों दैत्य र सैतान मात्र बड़ीरहेको संसारमा,
त्यसको सपनाको प्रवेश निषेध भयो
त्यसको सपनाको कदर निषेद भयो
त्यसको सपनाको मूल्य निषेद भयो
तबदेखि यों अनास्था पहाड़को छातीमाथि
यौटा व्यकुल चरो प्रत्येक साझ
अनर्गल गालीहरू गाउदै
अनर्गल श्रापहरू पोखादै,
अनर्गल पापहरू देखादै
फगत तृष्णाले आगोभित्र पानी मागिरहेछ |
यसैले यो अनास्था पहाड़
विश्वासहरू पखालीएको त्यो बंजर पहाड़ देख्छु ।