Last modified on 5 जुलाई 2017, at 16:18

अनुपम छहारी / सविता गौतम दाहाल


संझेर आफूहरुलाई
कुनै एक थोपा सागरको
वा सूर्यको अगाडि दियो
वा तृप्त वटूवानिम्ति बहिरहेको एउटा झरना
वा जलयात्रीले जहाजबाट देखेको महज एउटा थुम्को
वा सडक किनाराको हिलोमा फूलेको एक कमल
यात्रा जारी छ ।

सुन्दर तलाउहरुमा
वर्षौ आफनो आकृति चिहाउनेहरु
अहँ कहिल्यै त्यहाँ आफनो प्रतिविम्व देख्दैनन
आँखाबाट निस्कीएका किरणहरु
आकृतिको गन्तव्य नपुगी चूपचाप फर्कन्छन ।

त्यतै किनारामा ठूलापातहरुको हरियाली
जसको छहारी हृदयका गराँस फुलाउन सक्छ
आत्मीय आलिंगन पुष्पक विमानको यात्रा गराउछ
सायद केही क्षण खुशी जीउन चाहान्छन त्यहाँ ।

यात्रा गर्दैगर्दा, जीवनको मरुभमि
ताडको रुख भेट्टाउँछ र हूर्काउछ प्रेमपूर्वक ।
मान्छे हुनुको सार्थकता
तातोसंग पौठजोरी खेल्दै सजाउँछ मरुद्यान
पराजित उष्णता रमाउन थाल्छ कृत्रिम हिउँ चिप्लेटीमा
सागरमाथिको वालूवा महल अब मिथक रहदैन ।

वैभवताको चरम उत्कर्ष पनि
वुनिरहेछ एउटै मौसम
र त !
ठूलापातहरुको उही अनूपम छहारी
मन मस्तिष्कमाथि लगातार वर्षीरहेछ रिमझिम ।