Last modified on 5 अगस्त 2016, at 09:06

अन्त्यमा / गण्डकीपुत्र

सुसेली हाल्दै झरूँ
तिम्रो स्निग्ध्ताको पवित्र फाँटमा
गाउँ जङ्गलको आबाज टिपेर गीत
फूलको रङ्ग पैचों मागेर
चित्र उतारुं तिम्रो आँखाको
र शब्दकोष बाट चोरेर सुन्दर शब्दहरु
लेखौं तिमीलाई कवितामा |

आकाशलाई अलि माथि उचालेर
बनाउँ तिम्रो लागि अग्लो घर
घामलाई पिठ्युँमा अड्याएर
बनाउँ सितल छहारी
चट्टान पगालेर बनाउँ तिमि हिड्ने बाटो
खोलालाई यतै बोलाएर
तिमीलाई छुँदै बग्न भनु
आंधीलाई रोकेर आफ्नै छातीले
बिस्तारै बहन भानु
भनौ हल्लालाई संगीतमा अनुबाद हुन |

के के सोचिरहेको थिएँ
जुलुसमा हिड्दै गरेको बेला
अचानक बन्दुक पड्कियो
र छातीमा गाडियो आगोको फूल
केहि भन्नै भ्याइन
एक्कासी मुखबाट निस्कियो मुर्दाबादको आवाज
र शरीर चिसो भयो |