Last modified on 9 जुलाई 2018, at 16:39

अभिलाषा / गोविन्दप्रसाद ढुङ्गाना


भैगो, जन्म गरीबकै सुकुलमा होस्, किन्तु त्यो शुद्ध होस्
कोरोस् अङ्गहरु परन्तु तन यो अत्यन्त साह्रो बनोस्,
आउन् कष्ट करालरुप सहसा कुल्चून् सबैले, तर –
छाती यो नफुटोस् विशाल कहिल्यै थामोस् सहोस् केवल ।

फैलोस् बुद्धि सुकर्मकै तरफमा, यो चित्त एकाग्र होस्
आँटेमा पर जन्ममा फल पनि इच्छा गरेको फलोस्
यै नै साहसले म यो जनममा साहित्यको खेलमा
साथी एक बनूँ प्रसिद्ध कविको नेपाल उद्धानमा ।

खैलौनाहरु बुद्धि-खेल घरमा राखेर हाँस्तै मरुँ
आर्को जन्म लिऊँ म फेरि पनि यो नेपालमा नै, तर-
पैलो यो जुनिको कुराहरु सबै संझूँ नविर्सूँ, अनि
खेलौनाहरु ती झिकेर अघिका रोऊँ म खूसी बनी ।

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)