Last modified on 4 सितम्बर 2020, at 20:46

अलस प्रभात / ओकिउयामा ग्वाइन

आँखा मिची एकचोटि ढल्केर रहेछ फेरि ओछ्यानको न्यानोमा
बाहिर लागेछ केही, भरखर नवजात उज्यालोको मेला,,
कोठाको अध्यारोभिन्न, भित्ताको छेड-छेडबीच
रिसिएर फिजेछ मानो प्रकाश--रस
सुन्दैछ मधुरो रमाएको भङ रो सपनामा जसरी;
बिहान भएको बेला ।
रहेछ निहुरी, नयन--लति, ललित परेलासित
दूबोको हरियो निहुरेजसरी शीतको मोतीका चहकिलोबीच;
छातीमा बेहेका केशका लहरा खेलाएर अलस औंलाले
हिजो रातीको उनेको सपना, थन्काएर राख्दैछिन् अब ।

अब पनि कोठाबीच शवरीको अवशेष अटेरी गरेर रहेछ छरी
अओइलिएको फूलको, उड्न मागेर अलमल्ल गरेकी सुगन्धिजसरी;
कोपिलाको कचौरा, हरीया भरीमा, अचानक झरेझै फुल्ने बेला
छातीको आँचल, अलस विकल देहको लहराबाट परेछ झरी ।
आगत दिनका विफल-व्यथा गएछ खेरो बिहानको आनाकानीमा
लाग्ने ता छैन आजको दुःखमा, जीवनको दाग सम्झनाका
भेटी आज ता; शेषका व्यथामा, सपना फूलकी कलिकी
रातमा सकेर पथका पाथेय
छातीमा अंगाली जीवन-आदेय
मनका कुनामा रहेछ लुकेर-अलस प्रभातमा ।

................................................
चित्र लेखा-बाट, २०१५