जब साँझ पर्छ, मलाई हिजोआज
आगोमा हिँड्ने जोस चढ्छ
समुद्रमा फाल हाल्ने जाँगर चल्छ
सगरमाथा बिनाकुनै लुगा चढ्ने आँट बढ्छ ।
निशान्मुख जिन्दगीमा
के भइरहेछ मलाई आफँैलाई थाहा छैन !
राधा र कृष्णको सम्बन्ध खुवै मन पर्न थालेको छ
नरसिंह अवतार भएर सँघारमै टुक्रुक्क बस्न मन मानेको छ
अर्जुनजस्तै धीरोदात्त हुन पनि मन छ ।
के के भएजस्तो छ, के के नभएजस्तो पनि छ
के के पुगेजस्तो छ, के के नपुगेजस्तो पनि छ
भटमास गेडे शून्यतामा
फ्र्यान काफ्काको एकाएक परिवर्तित
कीराजस्तो भएको छु म मेटामरफसेस् !
बुद्धको शून्यवादजस्तो पनि लाग्छ
फेरि लाग्छ कृष्णको लीला !
आगो दन्किरहेछ काठमाडौँमा
म काली थुम्कोको डाँडाबाट
चुपचाप चुपचाप
सहर खाने तुँवालो हेरिरहेछु
सल्किरहेछ सहर
तर
कोलाहल पटक्कै छैन
मानिसहरू पकापक जलिरहेछन्
स्वस्फुर्त रूपमा !