Last modified on 7 सितम्बर 2024, at 13:50

असफल हुने चाहना / दीपक शम्चू

मलाई
पत्थर बनेर बाँचिरहने मन भएन
मैनबत्तीझैँ पग्लिएर बग्ने रहर भएन
हावा बनेर उडूँ-उडूँ
लाग्दै लागेन ।

चाहना त असफल भइदिने थियो ।

हिँड्दाहिँड्दै बाटो भत्काएर
भीरबाट लडिझर्ने मन थियो
डुङ्गामाथि चढेर नदी पार गर्दागर्दै
हामफालेर समुद्रमा पुगी हराइजाने रहर थियो
आकाश चिरेर कुङ्केराको देश खोजी
उतै हराइजाऊँ लागेको थियो ।

लागेको थिएन बद्लिएर बाँचू ।

सफलताको कथा सुनिदिने
तिमी भेटिएपछि
बदिलएको छ चाहना
बद्लिएको छु म ।

तिम्रो अँगालोमा बास बसेपछि
मेरो पुनः जन्म भएको छ ।

०००
* कुङ्केरा - कऱ्याङकुरुङ चरा