एकदिन
मनका पहाडहरुले साउती मारेर
जिन्दगीका गीतहरु खोजिरहेको बेला
म कुन आँधीले हुत्तिएर
आँधीहरुको देशमा पाइपुगेको छु
भीरहरुको देशमा आइपुगेको छु
थाहा छैन
कुन क्षितिजबाट चेपिएर
आँधीहरु जन्मन्छन् यहाँ
लाखु खस्ने भीरमा
मान्छेहरु खस्दैनन्
किनभने यहाँ मान्छेका जीजीवीषाहरु छन
किनभने यहाँ मान्छेका सपनाहरु छन
आदिम युगका धनुकाणहरु सिरानी हालेर
यहाँका कर्ण बहादुरहरु, सोमानसिंहहरु
गाँउमुनिको ढुङ्गखानीमा
भविष्यका सुन्दर सपनाहरु उमारिरहेका छन्
नजिक बनहरुमा
अझै पनि गिठा भ्याकुरहरु हराएका छैनन्
यहाँका पुर्णीमायाहरु
आदिम अनुभुतिहरुले गिठा भ्याकुरहरु खोज्दै
पिढीका झोलुङ्गाहरुमा
भविष्यका सपनाहरु खेलाइरहेछन्
उनीहरुलाई थाहा छैन
देशमा ठुला ठूला आँधी आईरहेकाछन्
आन्दोलनका आँधीहरु
विद्रोहका आँधीहरु
क्रान्तिका आँधीहरु
र सुन्दर सुन्दर सपनाका आँधीहरु
कहिलेकाहीँ उनीहरु
तल गाउँमुनिको व्यस्त सडकमा
गाडीहरु गुडेको देख्छन्
कहिलेकाही उनीहरु
बनेली भीरहरुमै पनि
धराप विष्फोट भएका सुन्छन्
तर उनीहरुलाई साँच्चै थाहा छैन
देशका ठूला ठूला आँधीहरु
उनीहरुका लागि आउँछन् कि आउँदैनन्
देशमा ठूलठूला बन्दहरु
उनीहरुका लागि हुन्छन् कि हुदैनन
कसैले सिंहदरबार
उनीहरुका लागि घेर्छन् कि घेर्दैनन्
गाँउमा आँधीहरु छन्
गाउँमा भीरहरु छन्
छन् गाउँमा कर्णबहादुर, सोमानसिंह र पूर्णिमायाका अजम्बरी सपनाहरु।