आँधी—हावामा उडेको धुलो हो कि !
सँगसँगै उडेको पतिङ्गर पनि हो ?
अर्थात् कि आँधी केही हो अरु थोकै !
मनको अमीलो हावा
छातीमा ठोक्किएर
आँखाबाट अविरल बलेँसी चुहुँदा
एक्लो यात्रा बोकेर हिँड्ने
मलिनताको शान्ति हो आँधी !
कि हृदयभरि पीडाका गीत बोकेर
हिउँदको सिरेटो सुम्सुम्याउने
न्यास्रिएको गुराँस हो आँधी !
कोक्याएको जिब्रोले
स्वतन्त्रताको मीठो स्वाद चबाउने
षडयन्त्र विरुद्घको तुमुल ध्वनि हो आँधी !
कि नअख्रिएका आँखाबाट
विस्मयका राग सुम्सुम्याउँदै
कथित स्यावासीका थपडी बजाउने
भूईं कुहिरोले छोपेको ऐंठन हो आँधी !
आँधी घर उडाउँछ ,
थर उडाउँछ
तर किन डर उडाउँदैन ?
आँधी पात उडाउँछ,
बात उडाउँछ ,
तर किन अन्तर्घात उडाउँदैन ?
आँधी जिस्किएर खेल्ने
कमजोर सिँगौरी हो कि !
आँगनका चरा तर्साउने फित्कौली हो ।
आँधी मीठो बद्मासीको हल्ला हो कि !
रापिलो छट्पट्टिको किल्ला हो ।
भोकको जोशिलो विद्रोह हो कि !
जोशमा गरिने उपद्रो हो !
पेचा नबनुन्जेल मान्छेहरू
आतङ्कित बन्छन् आँधीसँग ।
मान्छेभित्र मान्छेको
जाँगर जागेपछि
पशु रहँदैनन् मान्छेहरू ,
रक्तबीज भै विचारमा
बाँच्न थालेपछि
मारेर सकिँदैनन् मान्छेहरू
मान्छेभित्र मान्छेको
आगो बलेपछि
मेसिनबाट मान्छे बन्छन् मान्छेहरू
भूईंचालो आएपछि
मान्छेका पाइतालामा
रोक्न सकिँदैन कम्पनहरू ।
विस्फोटनको तयारीमा रहेको आँधी
छामिदैन मनका गगनभेदी नारासँग ,
आँधी देखिंदैन मनभित्र मान्छेको
मन फुटेर छताछुल्ल पोखिएपछि
भित्रैमात्र बास बस्दैन आँधी
गुम्सिएर आँशुसँग ।
बरु पोखिएर तूफानसँग
उडाउँदै हिँड्छ बुख्याँचालाई आँधी
आगो बनेर दन्किएपछि
कसरी रोक्न सकिन्छ र आँधी !