Last modified on 2 जुलाई 2021, at 08:05

आँधी र स्मृति / गीता त्रिपाठी

स्मृतिको आँधी रोकेर
उभिएकी छु
तीन दशक अघिको गोरेटोमा ।
 
टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला
काखीमुनि बालकजस्तै च्यापिएको किताब
र स्कुल ब्यागको अनौठो कल्पनामा
दोब्रिसकेका छन् पुस्तकका छेउकुनाहरू
अझै पनि रित्तै छ पानीको बोतल
तर भरिएको छ-
वरिपरिका अनन्त अभावहरू ।
 
मेरो अघिल्तिर
लठरम्म लर्किएको छ उही काली आँपको हाँगो,
आलुबखडा, आरू र फडिम
चुत्रो, ऐँसेलु र अड्चल
म काठमाडौँको फराकिलो सडक किनारामा
ठिङ्ग उभिएको रुख,
धुलाम्मे, भोकहरूले तृप्त
मेरो टिफिन बक्स अझै खाली छ ।
 
अँगाल्दै काइपरेका ढुङ्गाहरू
तिनैका नलीखुट्टामा बजाएर आफ्नो यात्राको धून
नाम्दी खोला अझै पनि
बगिरहेछ मभित्र रहस्यको आकर्षक गीत
मेरै पाइलामा चाहिँ
खस्रो स्पर्श मात्र बाँकी छ यात्राको ।
 
आमाले गुन्गुनाएका लोरीहरू,
हजुरआमाले सुनाएका लिङ्गे र राँके भूतका कथाहरू
र,
बुबाले खुवाएको इमान्दारीको सपथमा
आफ्नै भविष्यको वैधानिक यात्रा छ निरन्तर...
तिनैको भग्नावशेषमा उभिएको यो वर्तमानको जग
निकै हल्लिएको छ आजभोलि
 
मसँग छ
काँचो आँप र आलुबखडाले कुँडिएको दाँत
तातो चियाले डामेको जिब्रो
यहीँ उम्रिएका छन् संविधानका ससाना खटिराहरू
म क्यान्सरले भयग्रस्त समयबाट निर्लिप्त
बेताल अनुसन्धानमा फर्किएकी छु
र,
बालकजस्तै च्यापिरहेकी छु खाली पुस्तकसँगै
तिखारेर केही थान सीसाकलमहरू !
 
स्मृतिको आँधी रोकिएको छ
मातृगर्भको चेतना शून्य चेतनामा प्रवेश गर्दा
लाग्दैछ,
जाति र सम्प्रदायभन्दा माथि छ यो संसार
मनले भन्छ- संविधानको पहिलो धारा
यहीँबाट लेखिनुपर्छ अब !
 
भद्रकालीको मन्दिर घुमेर
न्यायालयको ढोका अगाडि हुँदै
भर्खरै एउटा बङ्कर
आँधी बोकेर उभिरहेको छ !