Last modified on 5 मई 2017, at 11:47

आँसु रुझेर : देवताहरू / कृष्ण जोशी

पानी भएर पानी
पहिरो भएर भीर
कामिरहेछन्
लाग्छ पानी होइन, मृत्यु टेकिरहेछन्
पहिरो टेकिरहेछन्— मान्छेहरूले

उडिरहेछन् भोका चील–गिद्धहरू
च्यापेर मान्छेको स्वाद
मान्छेकै आकाशभरि
 
यस्तोलाग्छ
चील–गिद्धका भोक बाँचिरहेछन्
सबै दिशाहरूबाट/निसानाहरूबाट
अप्रत्याशित आउने
अन्तिम क्षणको सम्भावना पर्खिएर— मान्छेहरू

दुर्गन्ध पोखिएको छ
बाँच्ने ठाउँहरूमा
बाँच्नुको परिभाषा वमन भएर

पत्याउनु गाह्रो छ
विषाक्त हुन सक्छन् हरेक क्षणहरू
नपत्याउनु झन् साह्रो छ
निर्भय पनि त हुन सक्छन्— कुनै क्षणहरू

अन्तिम संस्करणभित्र
खोजिरहेछु यति बेला मान्छेलाई
बाघ–भालु–चितुवाका नङ्ग्राहरूमा/सर्पदाँतहरूमा
साङ्घातिक समयका अनुहारहरूमा
कहिलेकाहीँ मान्छेइतर मान्छेहरूमा

साह्रै विश्वास छ
र त अन्तिम विश्वास हुन् देवताहरू
साह्रै अविश्वास छ
वरदानशून्य पनि छन् देवताहरू

निर्विचार छु
प्रसादमा कुन मृत्यु चढाऊँ
ढुङ्गाको आँसु रुझिरहेछन् स्वयम् देवताहरू ।