आकांक्षाको फेदीबाट तिमी
चिन्तनको चौतारीमा सुस्ताउँदै
धूलोका होली खेल्दै-पखाल्दै
आफै बन्नेछन् बाटाहरू
आफै थपिनेछन् सिँढीहरू
अस्तित्वको विस्केट बोकेर तिमी
बन्धनहरू फुकाल्दै आऊ
नसके चुँढाऊ बरू
तिम्रो आवाजको रेटाइले
रेटिने छ स्वर-सारङ्गी
प्रमिथसको आगो पनि त
विद्युत् भएर बलेको छ धप्प-धप्प
तिमी सल्कँदै जाऊ, फैलँदै जाऊ
एक झिल्कोबाट सहस्र बग्नेछन् किरणधाराहरू
सुदूरको गौँडाबाट सुरू भएको तिम्रो यात्रा
ठोकिँदै कदम-कदममा ढुङ्गाहरूसँग
चिप्लिँदै ओसका लेउहरूसँग
साहसको झण्डा बोकेर
उक्लिँदै जाऊ लेकका पहराहरू
बोकेर काँधमा सफलताका डिलहरू
समय समय हो
ओखती हो
तिम्रा दु:ख र घाउहरूमा
आकांक्षाको फेदीबाट तिमी
शिखरको सुदीर्घ यात्रामा निक्ल।