Last modified on 29 अप्रैल 2020, at 11:06

आकांक्षा / दैवज्ञराज न्यौपाने


१.
किरमिर किरमिर रेखा
सीमाहीन आकाश
अस्तित्वको खोजमा कतै
म एक सीमा कोर्न चाहन्छु,
अनन्त उत्साह र आशा
जीवन र मृत्युका बीच
प्रत्येक घटनाको पालैपालोमा
म एक समस्या भर्न चाहन्छु।

२.
वर्तमान र भविष्यका क्रममा
आउन्नन् कहिल्यै बितेका दिनहरू
छातीभित्रको भरिलो मायालाई
बरु एकपल्ट मरेरै पनि
यस धर्तीको माटामा म फेरि बाँच्न चाहन्छु,
म फेरि जन्मन चाहन्छु।

३.
एउटा अस्तित्वको अङ्ग बनेर
मेरा इच्छाहरूलाई पूरा गर्न नपाउँदै
मैले हार्नुपरेछ भने
यस धर्तीको उर्वर माटोभित्र
म फेरि जन्मन चाहन्छु।