Last modified on 13 अगस्त 2024, at 20:59

आकाङ्क्षाका अनगिन्ती / सानु शर्मा

आकाङ्क्षाका अनगिन्ती लहरहरूले
अधकल्चो पारिरहेछन् रहरहरूले

दूरीलाई किन दोष लगाउँछौ तिमी, प्रिय
नजिकिन दिँदैनन् मान्छेका नजरहरूले

मनभित्रै बसाएपछि अँध्यारोको शहर
मन कहाँ छुन्छन्, उज्याला प्रहरहरूले ?

चुँडिनैछ भने यदि सम्बन्धको डोरी
जोगाउँदैनन् ढुङ्गा-माटाका घरहरूले

देशमा सुधार होला भनी आशा नगरे हुन्छ
जबसम्म शासन गर्छन्, जोकरहरूले

आफ्ना लागि गर्नुपर्ने, आफैँले नै गर्नू, सानु!
केही गरिदिँदैनन्, यहाँ कुनै ईश्वरहरूले