केहि बाँकी छ
कतै त्यो सुनसानको वरिपरि, जहाँ स्वर छैन,
त्यहाँ कोही बसिरहेको छ गिजाहरु कनाउँदै ती बितेका क्षणहरुका
एक, एक परत चिथोर्दै,
म सुन्दछु उसलाई
तिमीले पनि केहि उत्सुकता देखाए सुन्न सक्छौ
केही बाँकी छ उसका अभिप्रायहरुमा उसका आयोजनाहरुमा
– कि कतै केही बनाउन खोजिरहेको झैं
– कि कतै केही हेर्न खोजिरहेको झैं
उसको लागि सबैले भइदिएझैं
म पनि सक्छु, यद्द्यपि म उसलाई सुनिरहेको छु।
बिहानका रुखहरुसित उसले स्वर भनिरहेको
साँझसित कुरा गरिरहेको, तिमी सुन्न सक्छौ, म सुन्न सक्छु,
बेस्याहार परेमा बालुवाको बगर पनि त्यता कतै छन्,
त्यसैमा कति आकृति बनाएर कति भत्काएर
फेरि बनाएर
उसले आफूलाई अभ्यस्त तुल्याइरहेको
ती बालुवाहरुलाई उचालेर उसले – कहिले मंदिरको
स्वरुप हेरेको छ,
कहिले त्यसमा स्वरुप बनाएर छरेको छ,
ऐनामा जस्तो हेर्नलाई आफैलाई र मेरा तिम्रा बिम्बहरुलाई
हामीले छोएका हाँगाहरुसमेत उसले बालुवामा
बनाउँछ
आकाशका मुठाहरु बनाउँछ
त्यसैमा सिउरन्छ, उ
यो बनाउनु र भत्काउनु क्रम बाँकी छ
म आभास अनुभव गर्छु त्यहाँ पदचापहरु पनि छन्
कतिले अनायास हिंडेका
कतै पुग्न
कि हिंडिरहन
हुनत सबै केहि बाध्य छन्, हिंडिरहन
म थाहा पाउँदछु
एउटा सूर्य उदाउन लागेको छ भने
एउटा सूर्य अस्ताउन लागिरहेको पनि छ
घामहरुले तानेका डोबले निर्मित उसको – भर्खरैको आकृति
– बगरमा टल्किरहेको छ,
म आभा देख्दछु,
तिमी पनि हेर, देख्दछौ,
आकृतिलाई केही घाम नभई नहुने
आकृतिलाई केही बिम्ब नभई नहुने
आकृतिलाई केही न्यानो नभई नहुने,
तिमीले अस्ति मात्रै एउटा कुरा बिर्सेका थियौ,
आकृतिलाई केही नबिर्सी नहुने
म आकृति देख्दछु ।
यहाँ कतै भरखरै एउटा छायाँ बनिरहेको थियो त्यस बेला
उसले बालुवाबाट उठाएको स्वरुपजस्तो
त्यताकतै उनिर उसले बनाएको बुढानीलकण्ठजस्तो
त्यताकतै उनिर उसले बनाएको लम्पसार सुतिरहेकी सुन्दरीजस्तो
म यसलाई हेर्न व्यस्त थिएँ
तिमी मलाई बिर्सन व्यस्त थियौ
उ, बालुवामा रुप बनाउन व्यस्त थियो
एउटा सूर्य त्यसैले अस्ताउन व्यस्त थियो,
अर्को सूर्य उदाउन व्यस्त थियो
म कतै तिमीलाई लालायित गरिरहेको त छैन
यी कुरा पनि लाग्छ
हुनत तिमी पनि मलाई लालायित तुल्याउँछौ
अलिकति मेरा कमजोरीहरुसित तिमी खेल्छौ ।
हुन्छ खेल, म सहन्छु ।
हुन्छ बिर्स, म सहन्छु ।
तर त्यहाँ उसकहाँ केही बनिरहेको छ,
मकहाँ पनि यहाँ केही बन्न खोजिरहेको छ,
हुन्छ, तिमी जेसुकै भन
कतै केही बाँकी छ ।