सूर्योदयसँगै मानव खप्परहरु
पिरामिड भएर बसेपछि अखबारका हेडलाइनहरुमा
यतिखेर त्रासदीय मास्टर प्लानहरु
अनुमोदन भइरहेछन् मानव बस्तीभित्र ।
मृत्युका फेहरिस्तहरुको पार्सल बोकेर मान्छेहरु
रिहर्सलमा व्यस्त छन्
प्रादुर्भाव गराउन
सुन्दर भूमिबीच रेगिस्तानको ।
मुहूर्तमुहूर्त मुटुमा अत्यास धड्काएर
मानवताको शिविरमा मानवतामा नै भष्मीभूत भएपछि
मान्छेहरु आफ्ना समवेत निश्चेष्ट स्वरहरुलार्इ
बाटोको बुङबुङ्ती धूलो झैँ उडाउँदै
विवश पर्खिरहन्छन्
नेपथ्यमा गुञ्जिने एउटा अर्को चिच्याहट ।
अचानक सडकमा
एक हूल मलामी निस्कन्छन् ।
चौरस्तामा कोणसभा
हरिताल परेका प्रेसविज्ञप्तिहरुमा
समवेदनाका दुर्दान्त स्वरहरु ।
यसरी नै सधैँसधैँ रातको निस्तब्धतामा
छरपस्टिन्छन् व्यष्टिव्यष्टि अङ्गहरु
समष्टि शरीरबाट यत्रतत्र ।
क्रुरताका तस्बीर पुजेर
अतृप्तिको शङ्खनादमा वाफिएका मान्छेहरु
मान्छेको बस्तीभित्र
भोलिको बिहानीसँगै मान्छेहरु खोज्नेछन्
तर त्यहाँ मात्र अवसानका अस्थिहरु भेटिनेछन् ।
उफ् !
यस बेला कलम स्तब्ध छ
अमूर्त छन् समाधानहरु ।
म लुम्बिनी खोजिरहेछु
गान्धीका शब्दहरु जपिरहेछु
केवल बुद्ध सम्झिरहेछु ।