कहिलेकाहीँ म आफुलाई सम्झन्छु
भुल्का बग्दो आगोको, छोपिएको, पुरिएको,
ननिभेको तर जिउँदो,
चट्टानहरूको गर्भ तुहुँदै नित्य बहिरहेको,
दुःख, विषाद, ग्लानि अनि अनन्त सन्तापले
अघि अघिदेखिन् जलाई,
उम्लँदो आगोको रक्त-रंगी वेगवान् खोला तुल्याइरहेको,
मलाई नहुनेहरूलाई हुनेहरूले थिचे मिचेझैँ गरी
चाहेको थिच्न मिच्न कसैले बोध हुन्छ
ओठमा मेरो रापिलो लप्काको हँसिलो भाव होस् तापनि
आँखामा पनेलो पानी रगतको चडेको खोर हुन्छ
हृदयमा जलेको मेरो रगत उसै निर्बाध उम्लिइरहेको
छोपिएको म हुँ तापनि
मृत, मतलबी, मिथ्या, ध्वंस दुनियाँको बोल्दै
नयाँ, पवित्र, जीवित दुनियाँको घडेरी खन्दै
अट्टहास ज्वालाको छोड्दै
म बाहिर आउने उमंगमा रमाउँछु ।
कहिलेकाहीँ म आफुलाई सम्झछु
भुल्का बग्दो आगोको, छोपिएको, पुरिएको,
ननिभेको तर जिउँदो चट्टानहरूको गर्भ तुहुँदै नित्य बहिरहेको ।
धेरै दिनसम्मन् म बसेँ शिलाझैँ, दुर्गाको मूर्तिझैँ
तर यौटा यौटा आगोको फिलुंगो छातीमा थुपार्दै
आज उल्लासको विरोधमा आँसु
रातको विरोधमा दिन
बन्धनको विरोधमा जीवन
शोषणको विरोधमा मोचन
बाँड्ने हेतुले आधा विश्व धर्काएर फुटेँ, म जुदेँ
छताछुल्ल भएकालाई जोड्न, बाँझो मरुलाई गोड्न
विशाल फूटको पर्खाललाई तोड्न ।
हे भाइ, म ता आगोको हुँ बहँदो नदी !
..............................................
(प्रगति।३, भाद्र-आश्विन २०१०)