Last modified on 26 मई 2017, at 12:39

आदिकवि भानुभक्त सम्झेर.... / विष्णु न्यौपाने

पर्दा खोल छिटै चुँडाउ तनका जे छन् सबै बन्धन ।
आऊ फुत्त उठेर कान्तिपुरमा च्यापेर रामायण ।।
तिम्रो स्वागत गर्न यो गहकिलो उठ्तै छ सद्भावना ।
तिम्रो शिल्प, कला चिनेछ जनले मूर्धन्य त्यो साधना ।।
(१)
त्यो बेला अरु क्यै थिएन पनि थ्यौ आगो सरी झर्झर ।
काला बादल, अन्धकार बिचमा चम्क्यौ तिमी निर्झर ।।
तिम्रा सिर्जित काव्य वा कृति कला मासेर मासिन्न क्यै ।
नेपाली जन भित्रको दृढखुसी नासेर नासिन्न क्यै ।।
(२)
लेख्यौ राम कथा, चरित्र उनको हो भक्तमाला पनि ।
सीता धर्म अझै पवित्र छ यहाँ त्यो रामगीता पनि ।।
शिक्षा यो वधुको सकिन्न कहिल्यै नासिन्न रामायण ।
नेपाली मनका पवित्र तहमा छायौ तिमी तत्क्षण ।।
(३)
तिम्रो आज अभाव देख्छु किन यो साहित्य आकाशमा ।
मर्यादा विधिको अभाव अति भो नेतृत्व संस्कारमा ।।
भाषा, धर्म, परम्परा दमनले अन्यायले पिल्सिए ।
ठूलाले अधिकार लुट्छ अरुको साना सबै मिल्किए ।।
(४)
जाग्यो राक्षस कार्य कान्तिनगरी सम्यन्त्रको माझमा ।
नेपाली बिच भेद उच्च गरियो भूगोलका ताजमा ।।
जन्माऊ हनुमान वाँनरहरू त्यो युद्ध ब्यूँताउन ।
यौटा राम पठाउ तीब्र गतिमा अन्याय सिध्याउन ।।
(५)