Last modified on 2 जुलाई 2021, at 08:08

आधा बाटो काटेपछि / गीता त्रिपाठी

आमाले बिसाएको भारी
हलुकै उठाउँन खोजेथेँ
आधा दिन काटेपछि
बल्ल थाहा लाग्यो
जिन्दगी कत्ति गह्रौँ रहेछ !
 
आफूले पर उभिएर हेर्दा त
फूलजस्तै उज्याली लाग्थिन् आमा
प्वाँखजस्तै फर्फराउने परेलीको जङ्घारबाट
जून हाँसेको हुन्थ्यो सधैँ
 
चङ्गाजस्तै रङ्गीन सपनाहरू
खै कसरी उँडाउथिन्
आँधीमा पनि कहिल्यै खसेन उनको हातबाट लट्टाई
त्यसैले त पन्छीहरू समेत
उनैलाई धागो ठानेर
उनकै वरिपरि घुमिरहन्थे
र आमा !
तिनैको सङ्गीतले सिँगारेर घर
उभ्याउँथिन् संसारकै बेजोड स्वप्न बगैँचा
 
कहिल्यै ठूलो भइएनछ उनको अघि
सोधिएनछ उनका थाप्लाका डामहरू
कति दुखे?
सोधिएनछ बोकीदिऊँ कि भारी?
 
अकस्मात् एकदिन
उमेरभन्दा पहिल्यै
लत्रिएर आमाले बिसाइन्
भारीसँगै सबै सपना र रहरहरू
 
पहिले आमाले भारी बिसाउँदा
घरभरि फैलिएथ्यो आशा
उत्साहका गीत गुन्गुनाएथे
सिकुवामा उँगिरहेका परेवाहरूले
 
आज उनले भारी बिसाएको क्षण
चारैतिर छ निस्तब्ध निराशा
शोक, भय र आत्मग्लानीले
थाकेका छन् घरका भित्ताहरू
 
आमाले बोकेको भारी
एकपटक तिमी उठाउने प्रयत्न गर त !
कुनै कामिनीको अभिलाषामा
उठेको पुरुषार्थले पनि
सक्दैन उठाएझैँ रामले शिवधनु
आमाले बिसाएको भारी उठाउन
 
सक्दैन
अर्को एक पुस्ताको बाटोमा
आमाले झैँ सम्यक यात्रा गर्न ।