जब आकाशलाई हेर्छु
बादलको आकार
बन्दुकजस्तै देख्छु र निहुरिन्छु ।
कालो देख्छु
अनायास ढुङ्गाको रङ,
लाग्छ,
अब क्षणभरमा त्यहाँबाट पनि
आगो हुर्कनेछ
र चिम्लन्छु आँखा ।
मनभरि जम्छ अमीलो सागर
न डुब्न सक्छु
न भाग्न सक्छु किनारैकिनार ।
प्रश्वासको बाटो बन्द हुन्छ,
किनाराका लाशहरु
रिसाएका छन्,
पिउनेहरु काकाकुल छन्
जिउनेहरु शोकाकुल छन्
मेरो चेत बोक्न सक्दिन म,
युद्धमय मनको विभिषिकाभित्र
सन्तुलन कुल्चिएको छु
आफ्नै पाइतालाले ।
हाँस्नेहरु पनि छन् हाँसिरहेका,
भाग्नेहरु छन् भागिरहेका
नदी, चरा, बाटो, जङ्गल
साँझविहान रातलाई हेर्छु
मजस्तै सबै निरीह छन्
र हात जोड्छु,
हे भगवान् Û
मैले चढाएको भरोसा मलाई फर्काइदेऊ
भोलि घाम झुल्किएको देखेँ भने
मेरो आयुलाई
म आफैँ आशीर्वाद दिनेछु ।