Last modified on 9 जून 2020, at 21:29

आभास अनिष्टको / सुमन पोखरेल

दिनभरि एउटा मुस्कान बाँचेर
जब, साँझलाई बोलाउँछु आफ्नो वरिपरि,
जूनको मुहारमा
एउटा प्रतिबिम्व देखापर्छ
मेरा पीरहरूको ।

एउटा मधुरो स्वर
मेरो जीवनको
मलाई छाम्न खोज्छ
मेरा हृदयहरूमा ।

त्यो ढुकढुकी
आफ्नो निरन्तरताको
प्रत्याभूति पाउन नसकेर
सधैँसधैँ विचलित छ ।

किञ्चित् मात्र धर्ती पाएको भए
अलिकति स्वतन्त्रता ऊसँगै भए
मेरो मुटुले झगडा गर्ने थिएन
यसरी छाती ढकढकाएर ।

मलाई आभास हुन थालेको छ
कुनै अनिष्टको,
यो रात
त्यसैत्यसै दोहोरिरहेको छैन ।