पीडाको अर्थ
या त्यसको रूप
कसैले सोध्दा मलाई
मैले एकोहोरो हेरेको छु आमालाई ।
सायदै
मेरो चेतनाको इतिहास भन्दा अघिदेखि
आशाको ओख्लीमा राखेर दुःखको बिस्कुन
एकतमास कुटिरहेको छ विश्वासको मुस्लीले
ढङ ढङ ढङ
ढङ ढङ ढङ
तर पनि कहिल्यै देखिनँ मैले
खुसीको सग्लो बियाँ–आमाको जिन्दगी ।
सायद
मेरो जन्म इतिहासभन्दा धेरै अघिदेखि नै
जाँतोको चक्कीसँगै घुम्छ
घरर.... घरररर.....घरररररर......
मेरो आमाको पृथ्वी
गग्रेटोको रित्ता गाग्रीहरूसँगै
पँधेरीमा खालीखुट्टै उदाउँछ
मेरो आमाको घाम
यतिका ला......मो समय भइसक्यो
मेरो खप्परको ढकनी उघ्रिएको
तर पनि खै कहिल्यै देखिनँ मैले
घुनविनाको खुसी आमाको जिन्दगी ।
मझेरीको धुलोसँगै
कुचोको सप्कामा बढारिइरहेको
मेरो आमाको अनुहारको घाम
अँगेनुको आगोको लप्कासँगै खडेरिइरहेको
मेरो आमाको उमेर
म आकाश खुल्ला राखेर पनि
चियाइरहेको छु– हृदयको छिँडीबाट
र सोचिरहेको छु एकचित्त
के ?
आमाको वास्तविक अर्को अर्थ
सधैँ पीडा हो ?