Last modified on 15 अगस्त 2016, at 00:35

आमाको चरम अनुभूतिहरूमा / मुनाराज शेर्मा


पहाडमा म आमाको तस्विर भेट्छु
जो अनवरत दुःखको पहिरोले पनि नसिद्धिएर
मेरो सफलताको प्रतिक्षामा
शिरमा घाम बोकेर
आकाशको पीडाहरूलाई
आफूमा निर्विघ्न खसिरहँदा थुरिरहँदा
चुपचाप सहिरहन्छिन्
र, चोटहरू बिचमै मकैको टुसा जस्तै
हृदयको जमिनमा
जिन्दगी उमार्छिन् मेरो लागि

आमाको अनुहार प्याङ्खर खेत जस्तै छ
सदियौंको दासता र हिंसाले
जोतेको उसको मुहारमा
पक्तिवद्ध अस्तित्वका धर्साहरू छन्
जहाँबाट खस्ने स्नेहको उज्यालोले
म युग जित्न हिडिरहने छु

जीवनको कठिन यात्रामा
प्रतिज्ञाको अग्‌लो भूगोलहरू
छिचोल्दै जाँदा
हतारमा बुर्कुसी मारेर खस्ने छ्हरा
मेरै आमाको आँखाको भञ्ज्याङबाट
बहने वेदनाको मूल जस्तै लाग्छ
जस्को तरलताले म अरूको करूणाको
मर्मलाई बुझ्न सकुँ

ईश्वरले निर्माण गरोस्‌ वा बिग ब्याङ थ्यौरीले
आमाले रूवा सै ओरालिन तिम्रो जमिनमा
र, संसार हेर्ने आँखा दिइन्
तिम्रो गुण गाउँने भाषा दिइन्
त्यहिँ विलक्षण आनुवांशिकताले
उभिएको छु म
तिम्रो धर्तिको एक छेऊमा

जब संसार हेरिसकिन आमाले
बांकी उज्यालो मलाई दिइन् र
बन्द गरिन् आँखा उनले
आज त्यहीँ आंखाले हेरिरहेछु तिमीलाई

चिर शान्ति होस् भनेर
माटोको कोमल छातीमा
सितल वृक्षहरुको छहारीमा
चराहरूको मधुर संगीतसँग
छोडेर आएँ मैले आमालाई

दशकौं पछि दुर्गमको दुःख भेट्न
सडक आयो आमाको चिहान माथि
हामीले माटो खनेर हेर्यौं
मात्र माटो थियो
त्यस पछि थाह भयो
आमा भनेको
हामी उभेको माटो हो
गन्तव्यमा पुर्याउँने
हामी हिड्ने बाटो हो
 
हो त्यहीँ बाटोमा हिँडेर
म तिमीलाई भेट्दै छु
ओ पृय मित्र !