म त साहूको ऋण तिर्न हिँडेको !
पूर्खाले लाई-खाई राखेको भनिएको
पुस्तैनी ऋण !
साथीहरू सबै मरिसके
जसलाई अक्षर थाहा हुन सक्थ्यो।
गवाहीहरू सबै सके
जसलाई त्यसको गणित थाहा हुन सक्थ्यो।
तर त्यसको हैकम भने कस्तो छ नी !
हररात त्यो लदुवा गधामाथि
बसेर आउँछ
र मेरो झिटिझ्याम्टा सिरिखुरी पार्छ
मेरो केटाकेटी बिल्लिबाठ पार्छ
त्यो अजङ्गको अनुहार
अँगूठाछाप ऋण
मेरो आँखाको सपनालाई हररात वध गर्न
आउँछ।
गाँसैपछि सोध्न आउँछ
तेरो पोल्टोमा के छ हँ ?
पटुकामा रहेजति आयु भिरेको छु
आज त्यो निरक्षर ऋण तिर्न हिँडेको म
घरको लालपूर्जा खोज्न हिँडेको म !