Last modified on 23 अगस्त 2020, at 21:24

आमा / सर्जु काटकर / सुमन पोखरेल


कहिल्यै रोएन उनले बोकेको बालक
कहिल्यै सुकेन उनले रोपेको विरुवा
कहिल्यै कसैका दृष्टीमा
दु:खको वस्तु भइनन् उनी ।

‘वचन’ भए उनले बोलेका शब्दहरू
र उही तरिकाले
स्वर्गे भइन् उनी,
जसरी सधैँ देखिने गर्थिन् ।


कहिल्यै देखिनँ मैले तिमीलाई
सिल्कको साडी लागाएकी
वा सुनका गहनामा सजिएकी।
देखिनँ कहिल्यै
निस्फ्रिक्री भएर कतै बसिरहेकी तिमीलाई
तिम्रो अन्तिम श्वाससम्म ।

आफ्नै जस्तो गरेर
अँगालोमा बाँधेकी थ्यौ तिमीले
सारा संसारका सारा वेदनाहरूलाई।

जब तिमी गहूँ पिस्थ्यौ
आँशु बहन्थे तिम्रा आँखाबाट ।
तिम्रा आँशु मिसिएका हुन्थे
तिमीले बनाएका हरेक रोटीमा ।
ठीक त्यही कारणले
साहसी जीवन बाँच्न सक्नेछु म
आकाशै खस्यो भने पनि।

भनिदेऊ मलाई
मेरो हृदयको कुन ठाउँमा तिम्रो नाम खोप्नुपर्छ
वा संसारको कुन विश्वविद्यालयको नाम
तिम्रो नाममा राख्नुपर्छ?


तिम्रै जसरी लागाएकी थिइन्
तिनले सिन्दूर ।

तिमीले जस्तै
साधारण साडी लगाएकी थिइन् तिनले
फूलजस्तै सुन्दर मुस्कान थियो
उनका ओठमा।

गर्वका साथ मुस्काइरहेकी थिइन् उनी
दु:खमा पनि ।

रोटी पकाउँदा पीठो टाँसिएको
काँचका चूरा लगाएकी थिइन् उनले।

भर्खर मेरा अगाडीबाट गइन्
तिमीजस्तै देखिने तिनी।

आमा!मलाई लाग्यो
तिनी तिम्रै अर्को रूप थिइन्,
र झुकेर ढोगेँ मैले
तिम्रो त्यो प्रतिविम्वलाई ।