मनको रेन्जपोस्टभन्दा धेरै पर
अँध्यारो ओढेर उभिएको छ मेरो गन्तव्य
खोकिलामा हात तताएर
खियाउँदै छु बहना
समयको उत्ताल छाल
उसैगरी छचल्किरहेछ
बिहानी माघका चिसा हत्केलाहरूमा।
छाल गति हो जिन्दगीको
छाल बिसौनी पनि हो जिन्दगीको
विश्राम र गतिको समयचक्र
उसैगरी लेखिरहन्थ्यो
प्राप्ति र समाप्तिको इतिहास
उसैगरी लेखिरहेछ
आज पनि।
हामी पढ्दै छौँ इतिहास
गौरवको/रौरवको
कहालीलाग्दा नरमेधका नृत्यहरू
सुनाइरहन्छ इतिहास
अविजित छ इतिहास/अनन्त
समयका कथा/व्यथाहरू
खाइरहेछ/पचाइरहेछ
भोकाउनु र अघाउनुको नियतिभन्दा पर
इतिहास
पोल्टाभरि घुसारिरहन्छ
एकपछि अर्का समयका कथा/गाथाहरू।
इतिहास बन्नु/बनाउनुकै होडमा
आलिप्त छु म पनि
निरन्तर खियाउँदै छु बहना
मनको रेन्जपोस्टभन्दा धेरै पर
अँध्यारो ओढेर उभिएको छ मेरो गन्तव्य
खोकिलामा हात तताएर
खियाउँदै छु बहना
समयको उत्ताल छाल
उसैगरी छचल्किरहेछ
बिहानी माघका चिसा हत्केलाहरूमा।