Last modified on 23 सितम्बर 2016, at 22:57

उदास साँझ / रमेश क्षितिज

गुँड गुँड फर्के चरी गोधूलिमा बास भेट्न
फर्कू म कुन ठाउँ नमेटिने प्यास मेट्न

मुस्कानझैँ कलिलो घाम अस्ताउँदैछ डाँडापारि
आफ्नै आँगन परदेश बन्छ मन हुन्छ भारीभारी
माथिमाथि सेतो बादल उडिरैछ पहाड भेट्न
उडी जाऊँ कुन देश नभेटिने साथ भेट्न

घामसँगै झुण्डिएर खुसी पनि अस्ताउँदैछ
पाहुना भई साँझ फेरि उही दुःख आउँदैछ
ओरालीमा बथान झरे आफ्नोआफ्नो गोठ भेट्न
ओर्ली जाऊँ कुन बेँसी नमेटिने चोट मेट्न