Last modified on 18 अगस्त 2020, at 09:23

उद्बोधन / रूपनारायण दाहाल


खोलिदे रे अब खोलिदे बन्द झ्याल अब खोलिदे
भित्र पसून् ती दिव्य ज्योति, चक्षु-प्वाल लौ खोलिदे रे
अन्तर-द्वार त्यो खोलिदे ।
जीवनको तेरो विषम पथमा साथ दिनेको सुस्वागतमा
स्वर्णिम शस्य-सूर निकाली मृदु वाणी त्यो बोलिदे रे
अन्तराधर त्यो खोलिदे ।
दूर गरी संशय भीत गाइदे मदु मिलन-संगीत
मन-बीनको सत् झंकारले मानस-सिन्धु त्यो घोलिदे रे
अन्तरायण त्यो खोलिदे ।
बिर्सिदे व्याकुल विषमता, बिर्सिदे अघिको वियोगव्यथा
निभ्न लागेको विरहाग्‍निमा स्मृति कटु जति पोलिदे रे
अन्तरानल त्यो खोलिदे ।
मिलन-सम्वादले विश्व व्यापोस्, मधुर मिठासले व्योम छापोस्
चित्तको त्यो शुद्ध भावले शैलु सुमेरु त्यो छिचोलिदे रे
अन्तराचल त्यो खोलिदे ।
वियोगदेखि महाविषम अहिले भयो मधुर-मिलन
अल्मलिएको तेरो आत्मा सच्चिदानन्दले पिरोलिदे रे
अन्तरालय त्यो खोलिदे ।
खोलिदे रे अब खोलिदे बन्द झ्याल अब खोलिदे
भित्र पसून ती दिव्य ज्योति, दृश्य विशाल त्यो खोलिदे रे
अन्तर-द्वार त्यो खोलिदे ।