Last modified on 25 अगस्त 2024, at 21:53

उपहार तिम्रो नाममा / गण्डकीपुत्र

तिम्रो नाममा केही पठाउन सकिन मैले
र एउटा कविता पठाएको छु
त्यसलाई पढेर तिमीले
मेरो सपनाको तस्विर बनाउनु |

सुन्छु तिमीले
कपालमा सिउरिन मानिनौ रे फूलहरू
मैले आगो साक्षी राखेर
तिमीलाई उपहार दिएको घाम पनि
खस्यो रे तिम्रो सिउँदोबाट
तिम्रो अनुहारको आभा
तिमीलाई छोडेर आजभोली
नाच्छ रे शिरीषका हाँगाहरुमा
काँच खस्दा आएको
तिखो आवाज जस्तो तिम्रो हाँसो
आफ्नो ओठबाट झिकेर
खोलामा बगाइदियौ रे तिमीले
त्यही हाँसो बोकेर खोला
अचेल बग्छ रे गैरिखेतको बिचैबिच उँधोतिर |

किन मन परेन तिमीलाई ?
म हिंडेपछि
फूलहरु
रङ्गहरू
र चराझैँ कावा खाँदै उड्ने उमङ्गहरु
कि तिम्रो चाहनाको गीत खस्यो कतै
कि तिम्रो मनको मीत बस्यो कतै
दिग्भ्रमित म
यो घाम बोकेर आउँ भन्थे
ताराहरु टिपेर ल्याउँ भन्थे |

माफ गर
ठ्याम्मै बुझिन मैले तिम्रो कुरा
र तिम्रो नाममा केहि पठाउन सकिन
पठाएको छु एउटा कविता
त्यसलाई पढेर तिमीले
मेरो सपनाको तस्बिर बनाउनु |