Last modified on 16 जुलाई 2017, at 15:51

उर्वरता / सविता गौतम दाहाल


जे मन पराउँछु
त्यो नपाउने वा नभेटिने होइन रहेछ
खोज्छु ,खोजीरहन्छु
जब जब भेट्छु ,वादलझै वहन्छु
निर्बोधझैं दंग पर्छु
ताराजस्तै अध्यारोमा एकतमास चम्कन्छु ।

कहिले हिडदाँ हिडँदै
अचानक, भेट्टाउँछु
रमाएर बेपर्वाह नाँच्छु
आफैभित्र अति सिर्जनशील संगीत घन्कन्छ
र आफैलाई बिर्सेर नथाकुन्जेल
नटराज नाँचीरहन्छु ।

कुनै दिन खाँदाखाँदै
त्यहि बर्षौबाट खोजेको स्वाद
अनायास भेट्टाऊँछु
चिम्लीएर आँखा,
आदिम मीठासको गहिराई चुर्लुम्म डुब्छु ।

छाता बिर्सिएको एक दिन
भिज्दा भिज्दै, निथ्रुप्प भिजें
उजाड, सुख्खा लाग्थ्यो जीवन
पुरै भिजेर भित्रसम्म रसाँएछु
त्यो वरसात
मैले निरन्तर खोजेको
अनौठो उर्वरता
आफूभित्र महशुश गरें ।

अब नयाँ विरुवा उमार्न तयार छु ।