उस्तै छु म आजपनि
आइरहेछ स्मृतिमा अतीत
जीवनका कुनै एकबेला
टुप्लुक्क पुग्थ्यौं तिमी
मेरो घरको आँगनमा
र समयको बुई चढेर लेखेट्थ्यौ दिनभरि
घर छेउछाउ लुकिबसेको एकान्त,
साँझपख जब कतै फर्कनुहुन्थ्यो आमा
तिमी स–सानो चोरबाटाको पछि लागेर हिँड्थ्यौं
हिउँदमा नदीले किनारमा छाडेर सुकेको
लेउजस्तो मन लिएर
घाम नआईपुग्दै रहरहरु उफ्रन्थे
आँखाको डिल–डिलमा आएर,
मनको घर्राबाट निस्केर पल्टन्थे योजनाका फायलहरु
वर्षौ हराएको सँगी एक्कासी भेटिएजसरी
समयको साङ्लोमा बाँधिएर थुप्रै शिशिर काटिएछ
क्रमशः–क्रमशः मट्टितेल रित्तिएको मधुरो बत्तिजस्तो
आमाको अनुहार र आँखा देख्दा मात्र था भयो,
यौटा साँझ त छदै थियो म सित
तर बालक हुँदा काँटी निख्रिएको
सलाईको बट्टामा धुलो हालेर
तिमीले मेरो सिउँदो भरेको सम्झदा मात्र था भयो
कति चाँडै आएछ अर्को साँझ पनि आँखामा
तर,
उस्तै छु म आजपनि
आईरहेछ स्मृतिमा अतीत
जब देखेँ अखबारमा
तिम्रो स्वयंवरको तस्वीर