Last modified on 4 जून 2017, at 16:13

एउटा कामना : प्रत्यागमन / निमेष निखिल


 
थाहा छैन
सूर्यजस्तो छर्लङ्ग यो वास्तविकतालाई
अनुभूत गरेका छौ छैनौ तिमीले
फूलको विरुद्धमा तिमीले हुङ्कारेका गर्जनहरू
क्रमशः क्रमशः आवाजहीन बन्दै गएका छन्।
 
मान्छेको बस्तीमा तिमीले कोरेका विभेदका रेखाहरू
मेटिँदैमेटिँदै गएको पनि देखेकै हुनुपर्छ तिमीले
तिमीले रोपेका विषाद्का वृक्षहरू
ओइलाउँदै/सुक्दै गएको पनि देखेकै हुनुपर्छ तिमीले
अझै पनि कोर्दै छौ रेखा तिमी
मलजल गर्दै छौ तिनै रुखहरूलाई
तिम्रो उपक्रम मलाई
विशाल समुद्रको अंशबण्डा गरेर
धान रोप्न गरेको प्रयासजस्तै पो लागेको छ।
 
संसार जित्नु भनेको माटोमाथि आधिपत्य जमाउनुमात्र हैन
मनहरू जित्नु हो, यस्तै लाग्छ मलाई
तिमीले आफूलाई अधिपति सम्झेको माटोमा पनि छन्
असङ्ख्य/अगणित मनहरू
थाहा छैन, कविताका हरफहरूजस्तै
पढ्छौ/पढ्दैनौ मान्छेका मन तिमी
मान्छेको मनलाई भकुन्डो बनाएर गोल हान्दैमा
खेल जितिन्न, बुझेकै हुनुपर्ने हो तिमीले।
 
यति बेला अँध्यारो च्यातेर एउटा
कलिलो सूर्यको सुन्दर थुँगा फुलाएका छौँ हामीले
विभेदका रेखाहरू मेटेर सपनाका कलिला बिरुवाहरू रोपेका छौँ हामीले
थाहा छैन के भन्छौ तिमी हाम्रो फूलको पक्ष/विपक्षमा
थाहा छैन पढ्छौ/पढ्दैनौ तिमी
वर्तमानले हाम्रो मनमा कोरेका कविताका हरफहरू
हामीले यत्ति बुझेका छौँ– प्रत्यागमनको अर्थमा
तिमीलाई हाम्रो फूल मन पर्छ अब
हाँगाहाँगामा सपना कोपिलाएका रुखहरू मन पर्छ अब
तिमीलाई हाम्रो मनभरि कुँदिएको
सुन्दर कविता मन पर्छ अब।