Last modified on 27 जुलाई 2020, at 17:43

एउटा नदीको कुरा / सुदीप पाख्रिन

चुपचाप बगिरहन्छ नदी……

किनारमै घरहरू बनाओस् कैयौँ- मललब छैन
भाँचेर छेउकुनाहरुबाट कुलो लगोस्, नहर लगोस्
या लगोस् घरघरमै- मतलब छैन ।

चुपचाप बगिरहन्छ नदी…….

कुरौटे छन् यी मौसमहरु
कान फुकिरहन्छ नदीको
– मतलब छैन ।

जिउमै नाउ कुदाउँछन्, डुङ्गा चलाउँछन्
थिल्थिलो होउञ्जेल जहाज दौडाउँछन्
बिना कारण थुन्छन् कतै
त बिना कारण अति नै खोलिदिन्छन् कतै- मतलब छैन ।
गुनासो नामको कुनै चिज गर्दैन नदी ।

चुपचाप–चुपचाप बगिरहन्छ……..

निकै इर्ष्यालु छ बरू मौसम……
कान भरिरहन्छ नदीको
प्रत्येक असार साउनमा ।

चुपचाप बगिरहन्छ तर नदी ।

कैलेकाहीँ
हो, कैलेकाहीँ
मानसिक सन्तुलन गुमाउँदछ, नदी ।