Last modified on 1 जून 2017, at 20:29

एउटा प्रश्न / निमेष निखिल


आँसुका भेलहरूमा पाइला डग्मगमएनन् भने
अवरोधका अघोरी पहाडले बाटो छेकेनन् भने
आउँछु भन्थ्यौ तिमी
त्यति बेला पनि तिम्रो छातीभित्रको एउटा सुदूर फ्ल्याटमा
डर भन्ने वस्तुले निःशुल्क डेरा जमाएकै थियो।
 
झार्दै–बटुल्दै आफ्नै पोल्टाबाट
विश्वासका मसिना कोपिलाहरू
समयका कति जँघारहरू तर्यौ तिमीले
समस्याका कति यात्राहरू छिचोल्यौ तिमीले
पुगिन्छ–पुगिन्न गन्तव्यमा
तिम्रो चेतनाको भित्री कुनातिर कतै
झ्याङ्गिएकै थियो शङ्काको एउटा लहरा
 
साहसको फाटक उघारेर सङ्घर्षको जङ्गल छिरेपछि
मैले त फाटकबाहिरै छोडेँ डरका सबै जन्जालहरू
ज्ञात प्रदेशको उकालो काटेर अज्ञात प्रदेशको ओरालो झर्नुअघि
मैले त भन्ज्याङमै छोडेँ शङ्काका सबै सबै शृङ्खलाहरू
यात्रा दुःसाध्य थियो
तर मैले जितेँ अविजित जस्ता पीडाहरूलाई।
 
ऐश्वर्यतर्फको तिम्रो यात्रा
विपुल सम्पन्नताको आँगनसम्म पुग्यो
र टुङ्गियो पनि
म त हिँडेकै छु अझै–
तिनै दुखहरूसँग/तिनै आँसुहरूसँग
 
मलाई त दुख नहुँदा
जीवन छैन कि जस्तो लाग्छ
मलाई त आँसु नहुँदा
म आफै छैन कि जस्तो लाग्छ
 
जितेरै छोड्छु दुखहरूलाई एक दिन
पराजित गरेरै छोड्छु आँसुहरूलाई एक दिन
म त यसै भनेर हिँडेको छु आजसम्म
 
सुखले तिमीलाई जित्यो भने
खुसीहरूले तिमीलाई कैदी बनाए भने
मलाई डर लाग्छ–
भन मित्र !
त्यस बेला तिमी के गर्छौ?