हरेक रात
अनिदा आँखामा
निन्द्राको छाल ल्याउन
कोशिश गर्छु ।
हजार कोल्टे फेर्छु
खुल्ला आँखामा
कैयौं सपना उमार्छु
सपनाहरू
बाँडिदिने कल्पनामा हराउँछु
आधाजति तिनलाई
आधाजति तिमीलाई ।
तर ती
पानीका फोकाहरू झैँ
बिस्तारै बिस्तारै फुटेर पोखिन्छन्
कताकता छरिएर हराउँछन् ।
बिहानीले उज्यालो हुँदा नहुँदै
मेरो सामु ल्याइदिन्छ
एउटा अर्को सङ्घर्षपूर्ण दिन
र शुरू हुन्छ फेरि
मेरो नयाँ यात्रा
कुनै कठिन परीक्षा झैँ ।
मलाई विश्वास छ
कुनै दिन पक्कै
मेरा सपनाहरू विपना भएर आउनेछन्
मेरो चाहनाको बिहानीलाई
आफ्नो साथमा लिएर ।
००००