भर्खर दिइएको छ फाँसी उसलाई
र
उर्लिरहेछ उल्लास चारैतिर !
आफ्नो प्रतीक्षित मृत्युभन्दा
सयौं गुना भयङ्कर रहेछ ऊ
मेरा आँखाको ओझेलमा
सोच्दै नसोचेको त्रासद रहेछ ।
कहीँ नअटाउने यो हिंस्रक चरित्र
मेरो कोखको सबैभन्दा स्निग्ध अनुभूति थियो,
सोधिरहेछु यसबेला आफैलाई म
कसरी जन्मिएछ मेरो कोमलताबाट
यस्तो क्रूर त्रासदी ?
सम्झन्छु, “ऊ जन्मँदा पनि उत्सव नै भएथ्यो !”
यसरी नै बाँडिएथ्यो मिठाइ !
मृत्यु उत्सव मनाइरहेको भीडबीच
निरपेक्ष यो गुलियो झैं
किन सक्दैन तटस्थ भइदिन मेरो हृदय !
तुवाँलोजस्तै उठिरहेछन् अतीतका सम्झनाहरू
सपनाजस्तो एउटा सत्यलाई
कोख दिएर यथार्थमा ल्याएथेँ
काख दिएर ममताले हुर्काएथेँ
सकेसम्मका उज्याला खोजेर
उसैमाथि खन्याइरहेथेँ ।
चम्किलो ज्योति बनाऊँ भनेथेँ,
तर मैले सोच्दै नसोचेको
अन्धकार बोकेर हिँड्दै रहेछ ऊ त !
मेरो क्षत हृदयले प्रश्न गरिरहेछ मलाई यसबेला
त्यही प्रश्न सोध्न चाहन्थेँ म, फाँसीमा चढ्दै गरेको आफ्नै छोरालाई—
तेरो मृत्युको यो भयावह उत्सवमा सरिक हुन
अब म कुन अवतार लिऊँ ?
सोध्न चाहन्छु म सृष्टिकर्तालाई,
हरेक घात–आघातमा
विकल्प खोजिबस्ने यो आमाको मनभित्र
मातृत्व चाहिँ किन सधैं निर्विकल्प रहिरहन्छ ?
०००