Last modified on 11 जनवरी 2025, at 07:44

एउटा स्केच / अबीर खालिङ

वर्तमानको त्रासद जंगलबाट
अक्षरको वीर्य खोजेर ल्याएको छु,
रोप्छु अब तिम्रा आँखाका
कचौरामा।

अभिशप्त मान्छेका मन-मस्तिष्कबाट
उठेको छ मुँस्लो धुँवाको मुस्लो,
र विचारको बगदाद ढकिएको छ।

फाटेको तन्नामा परिणत छ सोच,
सधैं तुहिन तयार।

भोकग्रस्त आकाशबाट घाम तुहेको छ,
संकटको छातामा ओत थापेर
हिँडिरहेछन् महाजुलुस।

शताब्दी-स्वरको चट्याङ खसेको छ
रुख-रुखमा,
उर्लेको छ वेमौसमी बाढी
खुसीको गीत गाउँने चराको वस्तीमा।

यसबेला,
हातमा क्यामेरा लिएर
खिच्न खोज्दैछु एउटा तस्वीर—
तिम्रो, मेरो, हामी सबैको।

यसो भनौं,
हाम्रो हाँसिरहेको अनुहारको।