Last modified on 5 मई 2017, at 12:35

एकलासमा बसी : एक्लै / कृष्णभक्त श्रेष्ठ

बाँझो बारीको ढिस्कोमा उम्रेको
नीलकाँडा र सिस्नुको झाङबाट
नियाल्नसम्मन् नियाले हेरेँ मैले
किर्ते
जालसाजी
फिरादपत्रजस्तो
यहाँको अस्तित्व
मैजस्तो मान्छेको व्यक्तित्व—
उठाएर टाउको छेपारोले जस्तै।

अनि
फर्काएर दुइटै आँखा आफैभित्र
 फरक्कै
हेर्न चाहन्छु
म आफै पनि के रहेछु।

कछुवाले जस्तै थुतेर टाउको
हातखुट्टा
आफैमा खुम्चन चाहन्छु।
सारसले जस्तै
तानेर लामो गर्धन
भरिएको गाँड आफ्नै चुच्चाले
कन्याउन चाहन्छु।

चाहन्छु नै अनि साँढेले जस्तै
डामेको साँढेले जस्तै
हतार–हतार खाएको सबै उग्राउन
एकलासमा बसी
एक्लै।