Last modified on 25 सितम्बर 2016, at 22:47

एक्लो / रमेश क्षितिज

ज्यान मेरो पिँजडा नाघेर
मनकी चरी उडेर भुरुरू
माया मेरो नौ डाँडा पारि
एक्लै मैले हाँसेर के गरूँ !
म रोएर के गरूँ !

भित्रभित्रै टुटेको को देख्छ
आँखा मेरो सधैँ छ ओभानो
मर्म मेरो बुझ्दैन कसैले
आज मलाई संसारै बिरानो
एउटै छाता ओढेको झरीमा
सम्झिरन्छु दिनदिनै झल्झली
कहिले फेरि भेटुँला उनीलाई
कहिले फेरि हाँसुला दिल खोली

आँखा हुन्छ अनिँदो रातिमा
छातिभरि सल्किन्छ डढेलो
यस्तो जुनी के जुनी बरीलै !
सम्झीसम्झी चिरिन्छ कलेजो
आफ्नो चिन्ता लाग्दैन कहिले
उनी हाँसे हाँसुला म पनि
टाढाटाढा भएर बाँचे नि
चार आँखा एउटै सपनी