क.
दिनकरको बीउ झन्डै उम्यो
मिरिमिरि–माटो फारी, दृश्य
बदली निशिभर गाइरहिथिन्
प्रकृति, तिनले रोपिन्अवश्य !
ख.
हेर ! साईटु आउँछ कलिलो,
लाल पत्ती ली दुई बादल !
मानो लुँडेका बीज पलाउँदा
हात ठटाउँदा खुशी बालकदल,
जस्तो मेरो, पन्छी, पशुको,
उफ्यो दिल दिल !
ग.
फुल्दछ, फुल्दछ ढकमक बन्दै
रातो–पहेंलो
यसका सुगन्ध मशीहा चोर्छन्
सुँघिरहेछु
गरिरहेछु चोर्ने मेलो !
घ.
यसको केशर पर्दछ चुली
पन्छी चुम्छन्
पर्वतमुनिले मन्त्र सुनीकन,
यसको रहस्य,
‘भूर्भुव स्वः भूर्भुव स्वः’
तिनका आँगमा
बिरुवा उँग्छन्।
ङ.
यो रोप्ने को ? यो रोप्ने को ?
जोडाजोडी ?
कस्ती राम्री होलिन्तिनी औ
कस्तो सुन्दर तिनको प्रेमी !
कल्पिरहेछु ताना छोडी !
भावहरुका उब्जिरहेछन् हरिया शस्य
गाई एउटा मन्त्र, रहस्य !
भूर्भुव स्वः भूर्भुव स्वः
च.
जप्छ दुभो पनि यही गायत्री
सजल र सिरसिर,
दिलले अवश्य !