केही आहझैँ केही चाहझैँ
सौरभ छरी वरिपरि
तिमी प्रतीक्षामा झैँ कसको
भन न भन कली !
जब भिखारीको हातसरि
फुक्नेछ तिम्रो सुन्दर तन
के ठानी के दिऊँ तिमीलाई
भन न भन कली !
समीप छ हेर्छु देख्छु
तिमी फुले झरेमा
रोए हाँसेझैँ गर्छु
तर यै हाँसो यै आँसु
यै समीपताको जीवन-जलमा
तिमीले प्रतिबिम्बित पायौ आफूलाई
भन न भन कली !
सन्देह चियाउँछ जब यो विश्वबीचमा
तिमी दूर हुन्छौ ताराझैँ,
दूर हुनाले चाह गरेको
त्यै तारासित तर फिराद यही छ-
किन त्यो मेरो कलीझैँ
रोइने हाँसिने भएन
समीप भएन?
भन न भन कली !
क्षणभरको छोटो जीवन
वसन्त लाख फुलाउँछ !
शिशिर लाख सुकाउँछ !
अनादि भूत अनन्त भविष्यको
कहालीलाग्दो फैलावटबीचमा
कस्तो यो जीवन-काल कली?
भन न भन कली !