किन भागेकी नील निलयमा बिजुलीझैँ क्षणभर आएर
यो मानव-चातकको निद्रित मीठो तृष्णा बिम्झाएर !
पीडित उरमा पीडा थप्ने कस्तो तिम्रो निष्ठुर बानी !
आँसु बगाई सुन्छ जलदले बरु मेरो यो करण कहानी ।
रोम-रोममा बिर्सिसकेको युग-युगको चीर चेतना भरी
प्रिय-प्रिय ! -भज्दै पोल्टो थापेँ खोइ दिएको प्रणय-मधुकरी !
लुकी लुकी कति सुन्न सकेको यो मेरो विह्वल अनुनय ।
भन्छ-यही रे, मम प्रियतमको मधुर प्रणयको नूतन अभिनय !
.............................................
शारदा, १३।१-२, बैशाख-ज्येष्ठ २००४